Wednesday, 28 June 2017

“सुर्योदयको देशबाट सगरमाथाको देश हेर्दा” (Looking from the Country of Rising Sun to the Country of Everest)


हुनत नेपाललाई जापानसंग आर्थिक रूपमा कतै पनि तुलना गर्न मिल्दैन, किनकी जापान संसारको दोश्रो अति विकसित देश हो आधारमा जबकी नेपाल अति कम विसित । एउटा सरदर जापानीले एक वर्षमा एक नेपालीले भन्दा १९-२० गुणा बढी आम्दानी गर्दछ । जबकी नेपाल जस्तो प्रशस्त प्राकृतिक श्रोत साधनले सम्पन्न देश हैन जापान, अझ  आजभोलि त जापान श्रमशक्तिको लागि पनि आप्रवासीहरूको भर पर्नु परेको छ । आर्थिक रूपमा सक्रिय जनसंख्या घट्दो छ भने बढिरहेको बुढो पुस्ताले गर्दा पेन्सन र सामाजिक सुरक्षा खर्च वर्षेनी बढीरहेको छ । जापानले सन् २०१३ को तथ्यांक अनुसार सामाजिक सुरक्षामा जिडिपिको २३.०% खर्च गरेको थियो जुन नेपालमा अत्यन्तै थोरै र अपर्याप्त छ । जापानमा दोश्रो विश्वयुद्धमा अमेरिकाले बम प्रहार गर्यो र त्यसले धेरै मानवीय तथा भौतिक क्षति भयो तर जापान त्यही ज्वालाको खरानीबाट फिनिक्सझैं जाग्यो र संसारको अगाडि प्रविधि, लगनशिलता र उद्यमशिलताको संयोजनबाट आर्थिक चमत्कार गरेर देखाईदियो । म यहाँ जापानको मिराकलको बारेमा हैन कि , जापानबाट हामीले सिक्न सक्ने केही जापानी समाजका विशेषताहरूका बारेमा चर्चा गर्न गईरहेको छु ।
१.       अनुशासन, भद्रता, मितव्ययीता र लगनशीलताः जापानीहरूको यो स्वभाव जताततै देख्न पाईन्छ, रेल चड्ने लाईन होस वा पसल दुकान होस्, सरकारी कार्यालय वा निजी कम्पनी, जुनसुकै पेशा र कामसंग सम्बन्धित ठाउँ वा व्यक्तिहरू अत्यन्तै अनुशासित र भद्र तरिकाले सबैमा समान रूपमा व्यवहार गरेका देखिन्छन् ।उनीहरू आउनेहरूलाई स्वागत र जानेहरूलाई विदाई गर्न जति भिडभाड र व्यस्तताका बिचमा पनि बिर्सदैनन् । हुने कामलाई कति समयमा हुन्छ र नहुने काम हुदैन र किन हुदैन उनीहरू स्पष्ट भनिदिन्छन । "किन होईन" र "यो  हुनुपर्छ" जस्ता अनावश्यक कुराहरूमा समय वर्वाद गर्दैनन् ।खर्चमा मितव्ययी हुने, आवश्यक सामान मात्र किन्ने, किन्ने सामानको लिष्ट बनाउने, छिटो सामान किनेर समय र पैसा दुवै वचत गर्ने बानी जापानीहरूको छ । जापानीहरूले प्रशस्त बैदिशिक ऋण लगानी गरेका छन् । औसत अमेरिकीको तुलनामा औसत जापानीको बचत आम्दानीको १५-२० प्रतिशत बढी छ । जापानीहरू व्यापार र स्टकमा लगानी गर्दछन् त त्यसबाट आएको पैसाले खर्च गर्दछन् । उनीहरू परिवारको मासिक र वार्षिक बजेट बनाउछन् र त्यस अनुसार आम्दानी खर्चको सन्तुलन मिलाउछन् ।
२.       समयपालना र नियमपालनाः अनुशासन र लनगशीलताका लागि समयपालना र नियमपालना नभई नहुने कुरा हो । जापान संसारको दोश्रो सबैभन्दा बढी समयपालना गर्ने देश हो ।  भन्नुको मतलब जापानमा समयमा काम गरिन्छ । बैठकहरू समयमा शुरु हुन्छन र समयमा सिद्धिन्छन ।  गाडि, रेल समयमा निर्धारित ठाउँमा पुग्दछन् । विद्यालय, कार्यालय आदि समयमा खुल्दछन् । दैनिक, साप्ताहिक, मासिक र वार्षिक क्यालेन्डर अनुसार काम हुन्छन् र ती तालिकामा निश्चित कारणबिना हेरफेर भएका मानिसहरूले समयअनुसार क्षतिपुर्ती पाउँछन् । त्यसैले जापानमा एकछिनपछि भन्ने हुदैन, कति मिनट वा समय पछि भन्ने हुन्छ । समय आफैमा ठुलो नियम हो जापानीहरुको लागि ।

यो बाहेक अन्य सबै ठाउँमा, बाटोमा, सडकमा, पसल, मल र पार्कहरूमा, चर्पीमा, सार्वजनिक ठाउँमा, यातयातका साधनहरूमा, बोल्दा, खाँदा, हिड्दा, सवारी चलाउँदा, कक्षाकोठामा, काम गर्ने कम्पनीमा, भनौ सबै ठाउंमा निश्चित नियमहरू हुन्छन र ति सबैले पालना गर्दछन् । सार्वजनिक ठाउँमा कसैले सामान छोडेमा त्यो कसैले उठाउँदैन बरू सम्बन्धित निकाय, जस्तो प्रहरी, वा सिटि अफिस वा पोष्ट अफिसमा खबर गर्दछन् र त्यो सामान सम्बन्धित व्यक्तिले पाउँछ, त्यसैकारण आफ्नो सामानमा जापानमा नाम ठेगाना लेखिन्छ ताकि हरायो भने पछि भेट्ने निकायले खबर गर्न सकोस् । जापानमा अफिस वा घरहरूमा कम्पाउन्ड वाल वा सुरक्षागार्ड हुदैनन । कतिपय संवेदनशिल स्थानहरूमा सिसिटिभि क्यामराहरू हुन्छ तर सबै ठाउँमा तेस्तो हुदैन, चोरी नहुने भएकोले सामानहरू घरबाहिर नै राखिरहेको देख्न सकिन्छ।


३.       सार्वजनिक सम्पतिको संरक्षण र हेरचाहः नेपालमा नेताहरूले देशलाई कहिले रातारात बिकसित त कहिले कुन देशजस्तो बनाउने भन्दछन् तर देश बनाउन मानिसको चरित्र र व्यवहार परिवर्तन हुनु जरूरी छ । जबसम्म व्यक्तिको फाईदाको लागि सार्वजनिक सम्पतिको प्रयोग वा दुरूपयोग हुन्छ, तबसम्म देश बन्दैन । त्यो भ्रष्टाचार हो । नेपालमा हामी त्यो जतापनि  देख्न सक्छौं। हामी सार्वजनिक सम्पतिको माया गर्दैनौं, बरू त्यसलाई आफ्नो बनाउने प्रयत्न गर्दछौ । चाहे त्यो सार्वजनिक जग्गा होस् वा जंगलको काठ होस वा सार्वजनिक स्थानमा भएका बिभिन्न कुराहरू । हामी घरको फोहोर बाटोमा फाल्छौ, बाटोको सामान टिपेर घर लैजान्छौं । भेटेको सामान कसको हो ? भनेर खबर गर्दैनौं । यही फरक छ हामी र जापानीमा । जापानीहरू घरमा फूल फुलाएर त्यसलाई सार्वजनिक चौतारो, बगैंचा वा पार्कमा लगेर राख्दछन् । बाटोको फोहोर टिपेर घर लैजान्छन । हामी सार्वजनिक स्थानमा दिसा पिसाब गर्दै हिड्छौं , तर जापानीहरू कुकुरको आचि पार्कबाट हातले टिपेर गोजिमा हालेर घर लैजान्छन् । पहिला उनिहरू आफ्नो घर अगाडिको सडक, ढल र फोहोर सफा गर्दछन् अनि बल्ल घर सफा गर्दछन् ।

४.       परम्परा, संस्कृति र आफ्नोपन को संरक्षणः जापानीहरूले सांस्कृतिक पुनरूत्थान मार्फत आफ्नो परम्परा, संस्कृति र कलाको संरक्षण र संवर्द्धन गरेका छन् र त्यसका लागि आर्थिक सामाजिक विकासमा संस्कृति र परम्परालाई राम्रोसंग प्रयोग गरेका छन् । उदाहरणको लागि, सबैजसो जापानी घरहरूमा परम्परागत रूपमा घाँसबाट बुनेर बनाईने गुन्द्री (तातामी) प्रयोग भएको पाईन्छ र तातामीहरू बुन्ने मेशिन तथा कारखानाहरू स्थापित छन् । जापानी परम्परागत खानाहरू सुसी, सासिमी,  मिसो सुप, शखरखण्ड आज पनि प्रत्येक सुपरमार्केट र भान्साको भिन्न शोभा हो । विद्यालयहरूमा जापानको पुरानो संस्कृति र ईतिहास तथा परम्परागत चाडपर्वहरूको बारेमा पढाई मात्र हैन त्यससम्बन्धी नाटक, खेल आदि गरेर विद्यार्थीहरूलाई जानकारी दिईन्छ ।
घर वरीपरी फुल लगाउने र घरको अगाडि नेपालमा मठमा तुलसीको विरुवा रोपेजस्तै जापानीहरू विशेष खालको विरुवा रोप्दछन् र त्यसलाई जाडोमा संरक्षण गर्न विशेष व्यवस्था गरिएको हुन्छ । समुद्रको पानीबाट नून बनाउने, साके बनाउने (डिस्टिलरी) प्रविधी देखि लिएर यासाबीको विरुवाबाट सुसी बेर्ने कागज बनाउने सम्म होस् वा ग्रिन टि खाने परम्परादेखि जापानीज चाउचाउ (रामेन) लाई काठको ट्रेमा राखेर चपस्टिकले खाने कुरा होस, उनीहरूले आर्थिक क्रियाकलापसंग परम्परालाई जोडेकै कारणले विकाससंगै परम्परा पनि संरक्षण गर्न सहज भएको छ । यस्ता धेरै उदाहरणहरू देख्न पाईन्छ ।
५.       फोहोर व्यवस्थापनः जापान विकसति देश भएकोले औद्योगिक फोहोर त धेरै छ नै, प्रत्येक सामानको सानो भन्दा सानो प्याकेजिङको कारणले घरायसी फोहोर पनि धेरै नै हुन आउँछ तर त्यसको उनिहरूले उचित व्यवस्थापन गरेका छन् । फोहोरलाई कुहिने, जल्ने, रिसाईकल हुने विभिन्न रूपमा छुट्टाएर अनि त्यसै खालको फोहोरको झोला किनेर तोकिएको ठाउँसम्म तोकिएको समयमा पु्याउने काम घरघरबाट हुन्छ भने, फोहोरलाई जलाउने, रिसाईकल गर्ने वा नष्ट गर्ने काम सरकारी निकायबाट हुन्छ । स्मोकिङ् गर्ने छुट्टै ठाउँ तोकेको हुन्छ । चुरोट निश्चित पसलहरूमा मात्र किन्न पाईन्छ, बालकहरूले बेच्न र किन्न पाउदैनन् । सार्वजनिक ठाउँहरूमा फोहोर फाल्ने भाँडाहरू व्यवस्थित तरिकाले राखिएको हुन्छ तथा सार्वजनिक शौचालयहरू दैनिक सफा गरिन्छ र प्रयोग गर्ने वित्तिकै सम्बन्धित व्यक्तिले नै त्यसलाई सफा गरेर पनि छोड्नुपर्दछ ।
६.       सुरक्षा र शान्त स्वभावः जापानमा हल्ला गरेको , लडेको, अनावश्यक भनाभन वा झगडा गरेको सुन्न र देख्न पाईदैन । अत्यावश्यक बाहेक मानिसहरू कुरा गर्दैनन् । ठूलो स्वरमा बोल्नु राम्रो मानिदैन । सार्वजनिक ठाउँहरू जस्तो, बस, रेल, पार्क, बाटो, पसल आदिमा फोनमा कुरा गर्नु हुदैन र गरिदैंन । अत्यावश्यक गर्नुपरेमा अरुले नसुनिने गरी तर सरी भनेर वा आफुले गर्न  नहुने काम तर जरूरी भएर मात्र गर्नु परेको भनी कुरा गर्ने गर्दछन् । बिना हेडसेट वा ह्यान्ड्स्फ्रीमा कोही पनि कुरा गर्दैनन् । चोरी, लुटपाट, ठगी नहुने र महिलालाई जिस्काए वा गलत नियतले हेरेमा मात्र पनि ठुलो सजाय हुन्छ , रातको कुनैपनि समयमा कोही पनि आवतजावत गर्न केही समस्या छैन । सेवेन ईलेवेन र फेमिलि मार्ट जस्ता पसलहरू चौबिसै घण्टा खुल्दछन् । पुलिसले पिट्ने वा धम्काउने गर्दैन, कसैले पनि असुरक्षित महसुस गर्नु पर्दैन । पसलहरूमा मोलमोलाई वा बार्गेनिङ गर्नु पर्दैन, सामानको मोल, डिस्काउन्ट तथा अन्य सबै कुराहरू डिस्प्ले वा ट्यागमा देखिने गरि लेखिराखेको हुन्छ । सार्वजनिक बसहरू रोक्ने निश्चित स्थान हुन्छ, बसमा ड्राईभरले नै बस चलाउने, पैसा लिने सबै गर्दछ, बसहरू र ट्याक्सीहरू सबै स्मार्ट सिस्टमबाट चल्दछन् ।
७.       रिसाईकल सप र प्रयोग भएका सामानको बजारः आफुले प्रयोग गरिसकेपछि, पुनः प्रयोगमा आउने सामानहरू रिसाईकलमा पठाउन सकिन्छ। रिसाईकलवालाहरूले ति सामानहरूलाई न्यूनतम मूल्यमा बेच्दछन् । कपडाहरू रिसाईकलमा पठाउँदा धोएर ड्राई गरेर मात्र पठाउनु पर्दछ । एउटा मोजा भए जल्ने फोहोर हो तर पुन प्रयोग गर्न मिल्ने धोएको जोडि मोजा भए त्यो प्रयोग भएको सामान (रिसाईकल) मा पठाउन सकिन्छ । लगभग सबै खाले सामान सेकेन्ड ह्यान्ड पसलमा पाईन्छ , ठुला सामान कार देखि, साना सियो धागो, साबुन, सेम्पु र भाडाकुडा सम्म, लगभग सबै । यसो गर्दा फोहोर कम हुने, सामान अरु कसैले सस्तोमा प्रयोग गर्न पाउने र कसैले पसल खोलेर जिविका गर्ने सम्मको फाईदा हुने मलाई लाग्दछ। सबै शहरहरूमा रिसाईकल शपहरू पाईन्छन् ।

८.       सामाजिक सुरक्षा, रोजगार र समानताः जापान संसारमा सबैभन्दा कम सुकुम्बासी (होमलेस) मानिसहरू भएको देश मात्र हैन जापान गरिबी असमानता कम भएका देशहरूमा मध्ये पनि पर्दछ । सरकारले सामाजिक सुरक्षामा धेरै लगानी गरेको छ । जापानको संविधानमा , “सबै नागरिकहरूलाई न्यूनतम स्तरको पुरा र सुसंस्कृत जीवनयापनको अधिकार” प्राप्त छ ।  टोकियो जस्तो संसारकै ठुलो शहरमा पनि माग्ने, भिखारी, खान नपाएकाहरू, बाटोमा, रोड र रेल्वे स्टेशनमा सुत्ने मान्छेहरू भेटिदैनन् । जापानभरी जम्मा केही सय मान्छेहरू मात्र होमलेस छन् भन्दा हामीलाई अचम्म लाग्दछ जबकी अमेरिका मा ६ लाख मान्छेहरू घरवारबिहिन छन् ।
९.       प्रविधी, मेशिन र ब्लुप्रिन्टः जापानीहरू कुनै काम गर्नुभन्दा पहिले त्यस कामलाई कसरी गर्ने, कुन मेसिन र प्रविधी प्रयोग गर्ने र कुन प्रणालीबाट गर्ने भन्ने निर्क्यौल गर्दछन् । सानो भन्दा सानो काममा पनि निर्देशिका, मापदण्ड बनाउनु र त्यसका आधारमा काम गर्ने बानि हुनाले काममा दोहोरो पना नहुने, पकपटक प्रयोगमा आएको विधी तथा प्रविधीबाट सधैलाई काम लिन सकिने र सिक्न तथा सिकाउन सजिलो हुने भएकोले उनिहरूले हरेक कुराको लिखित निर्देशन तथा त्यसको अनुपालना गर्दछन् । उदाहरणको लागि हामी घरमा खाना पकाउदा नुन कति हाल्ने, चामल वा पानी कति हाल्ने भनि नाप्ने चलन छैन तर जापानीहरूको स्पष्ट छ । हरेक कुराहरूको उनिहरूसंग स्पष्ट विधी, प्रविधी र त्यसलाई फत्ते गर्न मेशिन र (ब्लुप्रिन्ट ) प्रणाली छ । त्यसैका आधारमा उनिहरू काम गर्दछन् ।
१०.   र अन्त्यमा, विकास विकास र विकासः विकास रातारात हुने कुरा हैन तर आवश्यक कुराको संयोजन भयो भने विकासले पुस्तौं लिने पनि होईन । विकासको कुनै एउटामात्र सिद्धान्त छैन र यसका विभिन्न मोडेलहरू प्रयोग भईरहेका छन् । तर विकास गर्नकोलागि उच्च नेतृत्वको त्याग, दूरदृष्टि र ईमान्दारीता न्यूनतम कुरा हुन् । जबसम्म नेतृत्वले त्याग गर्न सक्दैन र व्यक्तिगत फाईदाका लागि देशलाई दाउमा राख्दछ तबसम्म कुनै व्यवस्था आएपनि विकास सम्भव छैन । जापानी नेतृत्वले विकासको सपना देख्यो ,भविष्यको लागि के चाहिन्छ, विकास गर्दा कति पछिसम्म थेग्ने गरी बनाउनु पर्दछ, त्यसको योजना बनायो,  त्यसमा ईमान्दारीसाथ लाग्यो , सबैले त्यसमा साथ दिए र त्यो सम्भव भयो । हामीकहाँ सपना देख्नेलाई गिज्याईन्छ , व्यक्तिगत फाईदाको लागि सम्पन्न हुन लागेको कामलाई बिगारिन्छ भने कुनै नयाँ काम गर्न खोज्यो भने खुट्टा तानेर तल झारिन्छ । विकासका सवै साझेदारहरूसंग सहयोग र टिमवर्कबाट विकास सम्भव छ । सबैले आफु र आफ्नो कर्मप्रति ईमान्दार भएर लागेमा पक्कै पनि हामी पनि जापानले झै विकासको सगरमाथा चुम्न सक्नैछौं ।

नरहरि घिमिरे

जुन २९, २०१७, निगाता जापान ।